

केएमसी स्कुलको छात्राबासमा युवती मृत फेला, हत्याको आशंका गर्दै आफन्तद्वारा प्रदर्शन

काठमाडौं – बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।
काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
डेढ वर्षदेखि कार्यरत रायमाझीको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।
रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।
काठमाडौं प्रहरी परिसरका एसपी मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

