महिला राष्ट्रिय भलिबल : एपीएफ र पुलिसको लगातार दोस्रो जित


काठमाडाैं – विभागीय टोलीद्वय नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् ।

कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको खेलमा एपीएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेका हुन् ।

एपीएफले न्यु डायमन्डमाथि २५-१२, २५-२० र २५-१४ को सोझो सेटमा जित निकाल्यो । अर्काे खेलमा पुलिसले परोपकारमाथि २५-६, २५-६ र २५-११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न सफल भयो । लगातार दोस्रो जितसँगै समान ६ अंक जोडेको एपिएफ र पुलिस राउन्ड रोविन लिगको एक खेल बाँकी छँदै फाइनल पुगेको छ ।

यी दुई टोली (एपीएफ र पुलिस) बीच राउन्ड रोविन लिगमा शीर्षस्थानको लागि प्रतिस्पर्धा हुनेछ । डायमन्ड र परोपकारले अंकको खाता खोल्न सकेको छैन। अब बिहीबार हुने राउन्ड रोविन लिगको अन्तिम खेलबाट शीर्षदेखि चौथोसम्मको छिनोफानो हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । शनिबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार राउन्ड रोविन लिगको अन्तिम खेलमा परोपकार र न्यु डायमन्ड तथा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यसपछि शीर्ष चारमा रहनेको छिनोफानो हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।

अन्य विधागत उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैँया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

प्रतिक्रिया