‘धान दिवसमा शुभकामनाले मात्रै पुग्दैन, किसानले रसायनिक मल पाउनु पर्छ’


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कृषि प्रधान देश नेपालले असार १५ गतेको दिन ‘धान दिवस’ मनाई रहँदा किसानले रसायनिक मलको अभाव खेप्नु परेको भन्दै कृषिमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

राजनीतिक दलका धेरै जसो नेताहरुले सामाजिक सञ्जालमार्फत् राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै गर्दा कांग्रेसका युवा नेता प्रदीप पौडेलले भने कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर यस्तो ध्यानाकर्षण गराएका हुन् ।

‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मलखाद पाउन नसकेको कृषकलाई तत्काल रसायनिक मलको व्यवस्था मिलाउन आग्रह गर्दै नेता पौडेलले धान दिवस भनेर शुभकामना व्यक्त गरेर मात्र किसानल राहत नपाउने तर्क गरे ।

उनले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएको बताए । ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेका छन् । किसानको कृषि उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’

कृषि मन्त्री यादवले अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढेको र टेन्डर आह्वान गर्दा पनि ठेक्का नहाल्ने स्थिति बनेको, कोभिडका कारणले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव नभएको बताएका थिए ।

मन्त्री यादवले भारतसँग जुन सम्झौता गर्यौँ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त नभएकै कारणले किसानले पर्याप्त मल समयमै नपाएको जिकिर गरे ।

नेता पौडेलसँगको छलफलमा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी दिए । तर नेता पौडेलले उक्त परिमाणको मल आवश्यक पर्ने मलको २० प्रतिशत मात्र भएको तर्क गरे ।

प्रतिक्रिया