
Exclusive: काठमाडौं महानगर वडा नं. ४ का वडाध्यक्ष महर्जनविरुद्ध पक्राउ पूर्जी
वृद्धभत्तामा अनियमितता गर्न सरकारी कागज कीर्ते गरेको आरोप
काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले वडाध्यक्ष महर्जनसहित ३ जनालाई बरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको छ ।
अदालतमा वडाध्यक्ष महर्जनसहित ध्रुवप्रसाद त्रिपाठी र मोहनबहादुर विष्टविरुद्ध सरकारी कागजात कीर्ते गरेको र लिखतसमेत कीर्ते गरेको अभियोगमा ७ वर्ष कैद सजायसहितको मागदाबी गरिएको छ । सो मागदाबी पछि जिल्ला अदालत काठमाडौंले तिनै जनालाई पक्राउ गरी हिरासतमै राखेर अनुसन्धान गर्ने आदेशसहित उनीहरुविरुद्ध पक्राउपूर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध एक जेष्ठ नागरिकको महानगर प्रोत्साहन भत्ता बापतको १२ हजार रकम उपलब्ध नगराउने मनसायसहित सरकारी कागज र लिखत समेत कीर्ते गरेको अभियोग लगाइको छ । उनीहरुले ती व्यक्तिले पाउने वृद्धभत्ता बापतको रकम लिने मनशायले भत्ता बुझिलिने कागजमा कीर्ते सहिछाप गरी लिखत समेत कीर्ते गरिएको पुष्टी भएको छ ।
अदालतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई दिएको पक्राउ पूर्जी प्राप्त भएपछि फौजदारी कार्यविधि संहिता, २०७४को दफा ५८ (३) नम्बर बमोजिम प्रतिवादीहरु रहे भएको वा रहन बस्न सक्ने इलाकाको प्रहरीसँग समन्वय गरी निज प्रतिवादीहरु दिनेश महर्जन, ध्रुवप्रसाद त्रिपाठी, र मोहनबहादुर विष्टलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
विष्ट यसअघिका वडाध्यक्ष थिए भने महर्जन र त्रिपाठी वडासदस्य थिए। महर्जन वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।



कागजपत्र |
