
४४औं राष्ट्रिय एथलेटिक्सका विजेतालाई सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सम्मान
काठमाडाैं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता’मा नेपाल एपीएफ क्लबका पदक विजेता खेलाडीलाई सोमवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सम्मान गरेका छन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीलाई हार्दिक बधाई दिँदै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी संगठनमा आवद्ध खेलाडीको मनोबल उच्च बनाई राख्न आवश्यक सेवासुविधाहरू समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताए ।
उनले प्रतियोगितामा सहभागी खेलाडीहरू, व्यवस्थापक तथा प्रशिक्षकलाई धन्यवाद दिँदै नेपाल एपीएफ क्लबका खेलाडीले संगठनमा उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा असार १०-१२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कूल २३ पदक जित्न सफल भएका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ अधिकृतहरू, नेपाल एपीएफ क्लबका खेलाडी तथा प्रशिक्षकको उपस्थिति थियो ।



कागजपत्र |
