शिक्षक र विद्यार्थीलाई प्राथमिक उपचार तथा मेडिकल डेक्स तालिम


रामेछाप – जिल्लाको सुनापती गाउँपालिकामा आठ कक्षासम्म संचालनमा रहेका विद्यालयका एक जना शिक्षक र विद्यार्थीलाई प्राथमिक उपचार र मेडिकल डेक्स स्थापना तालिम दिइएको छ।

दुर्घटना तथा विपदबाट घाइते भएमा तत्काल कसरी प्राथमिक उपचार गर्ने र बिरामीलाई अस्पतालसम्म पुर्याउन सकिन्छ भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको सामुदायिक विकास समाज महिला तथा बाल सशक्तीकरण स्वास्थ्य तथा सरसफाइ परियोजना रामेछापका संयोजक तिलक कार्कीले जानकारी दिए।

घटना भएपछि कसरी घाइते तथा बिरामीको प्राथमिक उपचार गर्न सकिन्छ भनेर अभ्यास गराउन चार दिनको तालिम संचालन गरिएको कार्कीको भनाइ छ। तालिमबाट प्राप्त गरेको प्रमाणपत्रले प्राथमिक उपचार गर्न तीन वर्षसम्म सरकारी मान्यता पाउने पनि कार्कीले बताए।

यस्तै नेपाल रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिवकुमार कार्कीले तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। दुर्घटना र विपद जति बेला पनि हुनसक्ने भएकाले तालिममा सहभागी सबै एक जुट भएर समाधानमा लाग्नुपर्नेमा पनि अध्यक्ष कार्कीको भनाई छ।

मानिसलाई सर्वप्रथम प्राथमिक उपचार नै आवश्यक पर्ने हुनाले तालिम उपयुक्त रहेको सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देश मिलनकुमार घिसिङले जानकारी दिए। तालिमबाट प्राप्त गरेको सीपले समाजमा ठूलो सहयोग मिल्ने र बिरामी तथा घाइतेले अकालमा ज्यान घुमाउने घटना कम हुने घिसिङले बताए। घिसिङ भन्छन्, ‘ग्रामीण परिवेशमा अस्पताल सुविधा प्रयाप्त नहुने र भएपनि डाक्टर नर्स नहुनु हुनाले यो तालिमले ग्रामीण समाजमा केही जनशक्ति थप भएको छ।’

नेपाल रेडक्रस सोसाइटी रामेछापको संयोजन, पिएसएफ लग्जेम्बर्ग, टिडिएच जर्मनीको सहयोगमा सामुदायिक विकास समाज महिला तथा बाल सशक्तीकरण स्वास्थ्य तथा सरसफाइ परियोजना रामेछापले आयोजना गरेको तालिममा सुनापती गाउँपालिकाबाट २९ जना शिक्षक र विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया