
बामदेवले भनेको मैले रेकर्ड गरेको छु, ओलीको सडकछाप पार्टीमा कति जालान् हेरौंलाः नेपाल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट नभएको बताएका छन्।
स्थायी समितिको बैठकमा बामदेव गौतमले ओली कम्युनिस्ट नभएको र फोहोरको डुंगुर हो भनेको र त्यसलाई आफूले रेकर्ड गरेको बताउँदै नेपालले बुधबार राजधानीमा आयोजित जिल्ला कार्य समितिले गरेको प्रशिक्षण कार्यक्रममा भने,‘अहिले बामदेव एकताका लागि बालुवा पेलिरहेका छन्, त्यसबाट तेल निस्किनेवाला छैन। केपी ओली झुक्न जान्ने मान्छे होइन, उहाँले भाँच्न मात्र जान्नु भएको छ।’
ओली प्रधानमन्त्री पदमा बसेपछि निरंकुश भएको र तानाशाही प्रवित्ति, सर्वसत्तावादी भएको भन्दै नेपालले भने,‘मन्त्रालयमा आफैं चलाउँछन्। राष्ट्रिय अनुसन्धान विभाग आफूमाथाहत लगे त्यो निरंकुश शैली हो। केपी ओलीलाई न पार्टीको विधानसँग मतलब छ न संविधानसँग मतलव छ। उहाँ आफूलाई पार्टीमाथि ठान्नुहुन्छ, आफूलाई।’
नेपालले केपी ओलीले आफ्नो केन्द्रीय समिति ५ हजारसम्मको बनाउन लागेको सुनेको बताउँदै भने,‘त्यो सडकछाप पार्टीमा कति जालान् हेरौंला।’
उनले अगाडि जोडे,‘एउटा राजा नाङ्गै हिँडेछ, कसैले नांगो भनेनछन्। ऐना देखाएछन्। अनि सडकमा निस्किएँछ। राजा त निरंकुश छ भनेर जनता कानेखुसी गरेछन्। त्यहि बेलामा अवोध बालकले भनेछ राजा त नांगै छन्। सबैले भन्न थाले राजा त नांगै छन्। अनि उ फर्किएछ, केपी ओली त्यस्तै नांगो राजा हुन्।’
उनले ओलीमा राजनीतिक चरित्र र प्रवित्ति नभएको बताउँदै उनले जोडे,‘उहाँका वरिपरि अराजनीतिक झुन्ड घुमेको छ र सुन्नुहुन्छ केपी बा, केपी बा भनेको सुन्नुहुन्छ।’
कसै कसैले त उहाँलाई बा भन्दै खुट्टा पनि छोएको समेत उल्लेख गर्दै उनले भने,‘एउटा स्थायी समिति सदस्यले नै छुँदा रहेछन्। नामचाहिँ भन्दिन है।’



कागजपत्र |
