

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुग्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ।
बढेकाे मूल्य आइतबार राति १२ बजेदेिख लागू हुनेछ। पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ। असार २ गते इन्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो।
‘निगमलाई मासिक रूपमा अझै करिब ४ अर्ब ७० करोड घाटा नै रही असार मसान्तसम्मा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको छ,’ आइतबार राति नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

