

आसाममा बाढी-पहिरोः ६२ जनाको मृत्यु, ३२ जिल्लाका ३१ लाख प्रभावित

काठमाडाैं – अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी भारतको आसाममा कम्तिमा ६२ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझ बढ्ने आशंका गरिएको छ । बाढीमा परी ८ जना हराइरहेका छन् ।
बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले ५ सय १४ राहत शिविर एवम् ३ सय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ ।
हाल १ लाख ५६ हजार ३ सय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ । राज्यका ४ हजार २ सय ९१ गाउँ बाढीको चपेटामा परेको छ । बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन् ।

