स्वरोजगार बन्दै सल्यानका युवायुवती


सल्यान – सल्यानका युवायुवती सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जिल्लाको शारदा नगरपालिकाभित्रका युवायुवतीहरू सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिकेको शारदा नगरपालिका-९ की गंगा बुढाथोकीले भनिन्‚ ‘सीप सिक्छौं।आत्मनिर्भर बन्छौं। आर्थिक आयआर्जनको क्रियाकलापमा प्रयत्क्ष संलग्न हुन्छौं।’ गाउँमा बसेर सीप नसिक्दा बेरोजगार बन्नु परेको पीडालाई सम्झँदै उनले हातमा सीप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताइन्।

शारदा नगरपालिकाले गुडिया बनाउने र बाँसका सजावटका सामाग्री निर्माण सम्बन्धी तालिम प्रदान गरेको छ।

तालिमबाट सिकेको सीपलाई उपयोग गरी स्वरोजगार बन्ने सोच बनाएको गौरीलाल पुनले बताए। उनले भने‚ ‘यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौं। सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका छौं।’

बेरोजगार युवायुवतीहरुलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत सीपमूलक तालिम दिइरहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताए। उनले भने‚ ‘हामीले तालिम मात्र दिँदैनौँ व्यावसायिक बनाउने योजना सहित काम गरिरहेका छौं।’ तालिमबाट सिकेको सीपलाई तालिममा मात्र सीमित राख्नेभन्दा पनि आर्थिक उपार्जनसँग जोड्न उनले सबैलाई आग्रह गरे।

प्रतिक्रिया