

BREAKING: ‘सट्टेबाजी’का लागि एन्फाकै आधिकारिक सम्झौता !
एन्फा र स्वीट्जरल्यान्डको इम्पावर स्पोर्टस् एजीबीच लिगका खेलमा बेटिङका लागि हस्ताक्षर

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विजरल्यान्डस्थित एक सट्टेबाजी कम्पनीसँग सम्झौता गरेको खुलेको छ । नेपालमा अवैध मानिएको सट्टेबाजीलाई एन्फा स्वयंलै आधिकारिक रुपमा विदेशी कम्पनी इम्पावर स्पोर्टस् एजीसँग सम्झौता गरेको हो ।
नेपालमा कुनै पनि खेललगायतका अन्य क्षेत्रमा सट्टेबाजी गर्न नपाइने नियम भएता पनि एन्फाले २ सिजनका लागि उक्त कम्पनीसँग सम्झौता गरेको खुलेको छ । एन्फा र इम्पावर स्पोर्टस् एजीबीच नेपालका ए डिभिजन, बि डिभिजन, सि डिभिजन र राष्ट्रिय महिला फुटबल लिगका लागि सट्टेबाजी गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार एन्फाले उक्त कम्पनीलाई विशेष विश्वव्यापी, रोयल्टी-रहित, पूर्ण रूपमा भुक्तान गरिएको, धेरै तहहरू मार्फत उप-लाइसेन्स योग्य र सबै एन्फा प्रतियोगिताहरू र राष्ट्रिय टोलीका खेलहरूको प्रयोगको अधिकारसहित स्वतन्त्र रूपमा हस्तान्तरणयोग्य अडियो-भिजुअल अधिकारहरू प्रदान गर्नेछ ।
सम्झौतामा एन्फाले उक्त कम्पनीको अनुरोधमा खेलको १० दिन अघि नै खेलसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने र खेलमा हुने दिन प्रेस बक्समा तीन सिट र न्यूनतम ५ एमबीपीएस क्षमताको इन्टरनेट सुविधा उपलब्ध समेत गराउने उल्लेख छ ।
सम्झौतामा एन्फाका तर्फबाट इन्द्रमान तुलाधरले काठमाडौंमै २०२१ को डिसेम्बर ६ तारिखमा हस्ताक्षर गरेका छन् भने उक्त कम्पनीको तर्फबाट पेड्रो प्रेसा र एन्ड्रीयास अर्पागसले पोर्चुगलको ऐयरसमा सन् २०२१ को डिसेम्बर १४ तारिखका दिन हस्ताक्षर गरेका थिए । यसबाट उक्त सम्झौतामा एन्फाले नै पहिलो हस्ताक्षर गरेको पनि खुलेको छ ।

