एक्सनमा मेट्रो वान !

रात्रीकालीन व्यवसायका मालिक र बाउन्सरको फोटोसहित तीनपुस्ते अभिलेख राख्न निर्देशन


काठमाडौं – संगठनले दिएको उपत्यका प्रहरी प्रमुखको पदभार गरेलगत्तै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र धानुक ‘एक्सन’मा उत्रिएका छन् । विगत केही समयदेखी खस्कँदै गएको राजधानीको शान्ति सुरक्षालाई चुस्त दुरुस्त पार्ने जिम्मेवारी र योजनासहित ‘मेट्रो वान’को कमाण्ड सम्हालेका एआईजी धानुकले आफू मातहतलाई निर्देशन दिन थालेका छन् ।

एआईजी धानुकले आफू मातहत ३ वटै जिल्लाका परिसर प्रमुख, महानगरीय अपराध महाशाखा, ट्राफिक महाशाखा, विमानस्थलका साथै वृत्तहरुलाई निर्देशन दिन थालेका हुन् । पछिल्लो समय राजधानीमा गुण्डागर्दीको साथै लुटपाट चोरी र बलात्कारको घटना बढ्न थालेका छन् ।

प्रहरी राजनीतिक दलको सिफारिसमा बढुवा र सरुवा हुन थालेपछि राजधानीमा पछिल्लो समय गुण्डागर्दी मौलाएको थियो । अधिकांश गुण्डागर्दीमा संलग्नहरु कुनै न कुनै राजनीतिक दलका नेतृत्वसँग ओत लागेका छन् । कोही राजनीतिमा लागेर सुध्रिएका छन् भने कोही राजनीतिक आवरणमा गुण्डागर्दीलाई आफ्नो मुख्य असुली गर्ने धन्दा बनाएका छन् ।

निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको कमजोर कमाण्डका कारण पछिल्लो समय राजधानीमा गुण्डागर्दीको साथै आपराधिक गतिविधि मौलाएको चर्चा प्रहरी संगठन भित्रै चलेको छ । विगतको नेतृत्वको कमजोरीको फाइदा उठाउँदै बढ्दै गएको आपराधिक गतिविधि तत्काल रोक्न एआईजी धानुकले आफू मातहतलाई कडा निर्देशन दिएका छन् ।

एआईजी धानुकले धेरै जसो डिस्कोथेकमा झै झगडा बढेपछि रात्रीकालिन व्यवसायमा कडाई गर्न मातहतलाई निर्देशन दिएका हुन् । डिस्को, लाउन्ज बार, डान्स बार, दोहोरीलगायत रात्रीकालिन व्यवसायीको मालिक र बाउन्सरहरुको फोटोसहित तीनपुस्ते अभिलेख राख्न धानुकले आदेश दिएका छन् ।

रेन्टुरेन्टका गेस्टलाई बाउन्सर आँफैले पनि कुटपिट गरी घाईते बनाउने गरेको घटनाहरु बाहिरिएसँगै धानुकले यस्तो आदेश दिएका हुन् । अब आईन्दा बाउन्सरले गेस्टलाई कुटपिट गरेको खण्डमा मालिकलाई नै कानुनी दायरामा चेतावनी एआईजी धानुकले दिएका छन् । ‘बाउन्सरको काम भनेको झगडा हुनबाट रोक्ने हो । झगडा गर्नलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गर्ने हो, आँफै कुटपिट गर्ने होइन,’ धानुकले भने, ‘ग्राहकमाथि कुटपिट गर्ने अधिकार तिनलाई कस्ले दियो ? अब आईन्दा यस्ता घटना घटेको थाहा पाइएमा व्यावसाय सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याउँछु ।’

धानुकले मातहतलाई अपराधविरुद्ध कडा रुपमा प्रस्तुत हुन मातहतलाई निर्देशन दिँदै केही प्रहरीहरु नै खराब नियतका भएको सुनिएको बताउँदै उनीहरुलाई सुध्रने अन्तिम मौका दिएको बताउँदै अब नसुध्रिए कारबाहीको भागीदार बन्न तयार रहनसमेत चेतावनी दिए । एआईजी धानुकले भने,  ‘मेरो मातहत रहेका कुनै प्रहरीले रेन्टुरेन्टमा प्रवेश गरी अवैधरुपमा एक कप कालो चिया खाएको थाहा पाएँ भने कारवाही गर्छु ।’

प्रतिक्रिया