बेँसीसहरबाट ४४ हजार ७ सयबढी नगदसहित सात जुवाडे पक्राउ


लमजुङ – लमजुङ प्रहरीले सदरमुकाम बेँसीसहरबाट ४४ हजार ७ सय ७० रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ।

प्रहरीले शनिबार दिउँसो २ बजे बेँसीसहर-७ पुरानो बैंकचोक स्थित बुद्धिकुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा–तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेँसीसहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना छन्।

प्रहरीले उनीहरूको साथबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए। उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ।

लमजुङ प्रहरीले ०७८/७९ मा जुवातास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको छ।

प्रतिक्रिया