नबिल बैंकका उपत्यकाका १८ शाखामा सार्वजनिक शौचालय !


काठमाडौं –  नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखाका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने घोषणा गरेको छ। आज काठमाडौं महानगरपालिकासँग १३ बुँदे सम्झौता गर्दै बैंकले सो घोषणा गरेको हो।

सम्झौतामा काठमाडौंमा नविल बैंकको स्वामित्व र भोगाधिकार भएका १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने उल्लेख छ। यसबापत सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने तथा आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्न बैंकले सहमति जनाएको छ।

सार्वजनिक शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने छ। शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी बैंककै हुनेछ। पाँच वर्षका लागि यो सम्झौता गरिएको हो। त्यसपश्चात फेरि सम्झौताको अवधि थप्न सकिने उल्लेख छ। सार्वजनिक शौचालयको अनुगमन र मूल्यांकनका लागि प्रत्येक चार महिनामा दुवै पक्षबाट एक-एक प्रतिनिधि खटाइने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौतामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन्। महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंक स्वयम्‌ले बहन गर्ने उल्लेख छ। महानगरको नगरकार्यपालिका बैठकले गत जेठ १६ गते काठमाडौंभित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयहरूलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

 

प्रतिक्रिया