धनगढीमा एलपिएलको तयारी तीव्र


टीकापुरआउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका गु्रप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ । 

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो । आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका गु्रपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कैलालीको टीकापुरमा रहेको चण्डिका गु्रपले खाद्यान्न, हार्डवेयर तथा आयात निर्यातको व्यवसाय सञ्चालन गर्दै आएको छ ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । कोरोनाको कहरका बीचमा पनि मुख्य प्रायोजक पाउँदा प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्न मद्दत मिल्नेछ, शाहीले भने, ‘हाम्रो उद्देश्य विद्यालयस्तरबाटै खेलाडी उत्पादन होऊन् भन्ने हो । त्यसका लागि यस्ता गतिविधि हुन आवश्यक छ ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिनुभयो । विगतमा चार जनासम्म नेपालभित्रका १९ वर्षमुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्षमुनिका दुई मात्रै खेलाडी सहभागी गराउने तयारी आयोजकले गरेको छ ।

विगतका वर्षभन्दा पुरस्कार राशि पनि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले रु दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५० हजार दिइनेछ । कोरोना महामारीको बीचमा प्रतियोगितालाई निरतन्तरता दिन सक्नु नै ठूलो हो, अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता क्रिकेटको जग हो । हाम्रो उद्देश्य क्रिकेट खेलको विकास गर्ने हो । त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौँ ।

परिवर्तनशील समयसँगै क्रिकेट खेल युवामा मात्र नभई, बयस्क र केटाकेटीका लागि पनि लोकप्रिय खेल बन्न थालेको छ । सुदूरपश्चिममा एक दिवसीय र २०÷२० क्रिकेट खेल हुन थालेका छन् । क्रिकेटप्रति बढेको आकर्षणले कैलालीमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम पनि बढ्न थालेका शिक्षक पूर्ण विक बताउछन् । विद्यालयले पनि आफ्नो अतिरिक्त क्रियाकलापमा क्रिकेट खेललाई प्राथमिकतामा राख्न थालेका छन्, शिक्षक विकले भने, ‘क्रिकेटमा खेलाडीको रुचि बढेको छ र दर्शकले पनि रुचाउन थालेका छन् । विद्यालयले कलिला विद्यार्थीको क्रिकेटमा रुचि जगाउने काम गर्न थालेको महसुस गरेको छु । सुदूरपश्चिम प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रूपमा विकास गरिरहेको छ ।

(रासस)

प्रतिक्रिया