स्वतन्त्र उठेर पालिकाको नेतृत्व गर्नेहरु

महानगर १, उपमहानगर र नगर ३–३ र गाउँपालिका ६ वटामा दलका उम्मेदवारको हार


काठमाडौं । मुलुकका प्रमुख राजनीतिक दललाई चुनौति दिँदै स्थानीय तहको निर्वाचनमा १३ वटा स्थानीय सरकारको नेतृत्व स्वतन्त्र रुपमा उम्मेदवार भएका व्यक्तिहरुले लिने भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलहरुले गठबन्धन र तालमेल गरेर प्रतिष्पर्धामा होमिए पनि मतदाताले १३ जना स्वतन्त्र उम्मेदवारहरुलाई स्थानीय सरकारको नेतृत्व चुनेका छन् ।

मुलुकको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नेतृत्व गर्ने निश्चित छ । महानगरको करिव ३३ हजार मतगणना गर्न बाँकी रहेपनि शाहले प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार सृजना सिंहको भन्दा १९ हजार बढीको मतान्तरमा अग्रता लिएपछि उनी नगरप्रमुख हु्ने निश्चित भएको हो ।

राजनीतिक दलको तर्फबाट एकसे एक ‘हेभी वेट’ भनिएका नेताहरुलाई उम्मेदवार बनाइए पनि मतदाताले तीन वटा उपमहानगर धरान, जनकपुरधाम र धनगढीमा स्वतन्त्र उम्मेदवारलाई विजयीको माला लगाइ दिएका छन् ।

त्यस्तै, तीन वटा नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् भने छ वटा गाउँपालिकाको अध्यक्षमा पनि विजयी भएका छन् ।

मतदाताहरुले राजनीतिक दलका नेतालाई भन्दा स्वतन्त्र उम्मेदवारलाई रुचाएका छन् । राजनीतिक दलहरुले आफ्नो ‘गढ’ र बलियो क्षेत्र भन्दै अलोकप्रीय र नामै नसुनिएका व्यक्तिलाई उम्मेदवार बनाउन थालेपछि मतदाताले आफ्नो अधिकार प्रयोग गरी दलहरुलाई मज्जैले हार चखाएका हुन् ।

स्वतन्त्र उम्मेदवार बनेर प्रदेश नम्वर १ को धरान उपमहानगर प्रमुखमा विजय हासिल गर्ने हर्क साङपाङ राईले आफ्ना निकटतम प्रतिद्वन्दी कांग्रेसका किशोर राईलाई चार हजार १६२ मतान्तर र एमालेकी मञ्जु भण्डारी सुवेदीलाई सात हजार ९९६ मतान्तरले पराजित गरेका हुन् ।

प्रमुखमा विजयी राईले २०हजार ८२१ मत ल्याएर विजयी हुँदा किशोर राईले १६ हजार ५९ र भण्डारीले १२ हजार ८२५ मत मात्र पाएका थिए ।

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपु्रधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साहले नौ ९ हजार ५३२ मतमा चित्त बुझाउनु परेको थियो । सुडी कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

लोकतान्त्रिक समाजबादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाएर तेश्रो हुनु भएको थियो भने पाँच दलिय गठबन्धनबाट उम्मेदावर बनेका जनता समाजबादी पार्टीका लालकिशोर साहले पाँच हजार १९४ मतमा सीमित भएका थिए । लालकिशोर उपमहानगरका निवर्तमान प्रमुख पनि हुन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान उपमहानगर प्रमुख नृप बहादुर वडभन्दा १२ हजार ४८ बढी मत ल्याएर विजयको माला लगाए । हमालले एमालेका उम्मेदवार रणबहादुर चन्दको भन्दा १७ हजार ७५० मत बढी ल्याएका छन् ।

मधेश प्रदेशको बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद कुमार क्षेत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका उम्मेदवार राजु खड्कालाई पाँच हजार ८८७ मतान्तरले पराजित रेका छन् । जेब्रा चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिएका क्षेत्रीले १४ हजार २१० मत पाउँदा निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका खड्काले आठ हजार ३२३ मतमा चित्त बुझाउनु परेको थियो ।

क्षेत्रीले आफूसहित उपप्रमुखमा तारादेवी महतो र नगरका १४ वडामध्ये ४ वटामा आफू निकटका वडाध्यक्षका उम्मेदवारलाई समेत विजयी गराउन सफल भएका हुन् । प्रमुखमा तेश्रो भएका एमालेका टेकबहादुर बलम्पाकीले तीन हजार ५२६ मतमा र कांग्रेसका चिरंजीवी हमालले एक हजार २६३ मा चित्त बुझाउनु परेको थियो । क्षेत्री कांग्रेस परित्याग गरी स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् ।

कर्णाली प्रदेशको जुम्ला सदरमुकामा चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार बनेका राजुसिंह कठायतले कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीलाई २६ मतान्तरले पराजित गरी विजय हासिल गरेका छन् । कठायतले दुई हजार ४०३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी शाहीले दुई हजार ३४१ मत ल्याएका थिए । कठायत कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

कर्णाली प्रदेशकै कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरी विजयी भएका छन् । शाहीले दुई हजार ९१९ मत ल्याउँदा एमालेका पाण्डेले दुई हजार ६०९ मत मात्र ल्याएका थिए ।

प्रदेश नम्वर १को ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार रुपलाल तामाङलाई पराजित गरेर जित निकालेका हुन् । रुम्दालीले पाँच हजार २१ मत ल्याएर विजयी हुँदा तामाङले तीन हजार ८२१ मा चित्त बुझाउनु परेको थियो ।

प्रदेश नम्वर १ कै भोजपुर जिल्लास्थित साल्पासिलिछो गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ विजयी भएका छन् । उनले एक हजार ८१४ मत पाएर विजयी हुँदा कांग्रेसका महेश राईले एक हजार ७८६ मत ल्याएका थिए ।

अध्यक्षमा विजयी मानेभञ्ज्याङका रुम्दालीलाई कांग्रेसले समर्थन गरेको थियो भने साल्पासिलिछोको अध्यक्षमा विजयी भएका कुलुङले एमाले परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । रुम्दाली पाँच वर्ष अघि पनि स्वतन्त्रबाट उम्मेदवार बनेका थिए ।

सुदूरपश्चिमको बैतडी जिल्लास्थित डिलासैन गाउँपालिकाको अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवरा सन्तोषप्रकाश जोशी विजयी बनेका छन् । उनले माओबादी केन्द्रका लोकेन्द्र बहादुर रानालाई पाँच सय ३८ मतान्तरले पराजित गरेर विजयको मालाई पहिरिएका हुन् । जोशीले तीन हजार १८९ मतका साथ विजयी बन्दा माओबादी केन्द्रका रानाले दुई हजार ६५१ मा चित्त बुझाउनु परेको थियो ।

कर्णाली प्रदेशको कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मोहनबहादुर केसी माओबादीका डम्वर शाहलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । केसीले एक हजार ८२२ मत ल्याएर विजयी बन्दा माओबादी केन्द्रका शाहले एक हजार ३२५ मा चित्त बुझाउनु परेको थियो । केसी माओबादीबाट टिकट नपाएपछि पार्टी परित्याग गरी उम्मेदवार बनेका थिए ।

हुम्लाको चंखेली गाउँपालिकाको अधयक्षमा प्यारीलाल शाही एक हजार ६९५ मत ल्याएर विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका गोविन्दबहादुर शाहीले एक हजार १८१ मत मात्र ल्याएका थिए ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका स्वतन्त्र उम्मेदवार कार्मा छोईबेल गुरुङ पाँच सय ३५ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् उनका निकटतम प्रतिष्पर्धी माओबादी केन्द्रका उम्मेदवार तेम्वा गुरुङले भने ३०२ मत मात्रै ल्याएका थिए ।

डोल्पाकै शेफोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङ्छेन गुरुङ एक हजार १०१ मत ल्याएर बिजयी बनेकी छन् । उनको निटतम प्रतिद्वन्दी माओबादी केन्द्रकी पेमा डोल्मा गुरुङले २७६ मत मात्रै पाएकी थिइन् ।

गण्डकी प्रदेशकै मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिरिङ गुरुङ ७४४ मत ल्याएर बिजयी भएकी छन् । उनको निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रिन्जेन धोर्जे गुरुङले पनि ७१९ मत ल्याएकी थिइन । विजेता र पराजित हुने उम्मेदवारको मत सख्या २५ ले मात्र फरक छ ।

देशभर तीन सय बढी स्वतन्त्र उम्मेदवारहरु गाउँ तथा नगर सदस्य र करिब ५० जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ६४ जना स्वतन्त्र उम्मेदवार विभिन्न पदमा विजयी बनेका छन् । कर्णाली प्रदेको नगरप्रमुखमा २, अध्यक्षमा तीन, उपाध्यक्षमा एक र वडाध्यक्ष १९ जना स्वतन्त्र उम्मेदवरा विजयी बनेका हुन् ।

प्रतिक्रिया