गठबन्धन गर्दा समेत ढलेन झापाको ‘लालकिल्ला’

एमाले ७, कांग्रेस ६ र राप्रपा २ पालिका नेतृत्वमा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको ‘लालकिल्ला’ भनेर चर्चामा आइरहने झापामा सत्ता गठबन्धनका दलबीच तालमेल गरेर स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गरे पनि जिल्लामा एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको छ ।

झापाका ८ नगरपालिका र ७ गाउँपालिकामध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लैले ६ वटा नगरपालिकामा प्रमुख र एउटा गाउँपालिकामा अध्यक्ष गरी ७ स्थानीय तहमा नेतृत्व लिएको छ । एमालेले पाँच नगरउपप्रमुख र पाँच गाउपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भद्रपुर नगरपालिकाको प्रमुख र अन्य पाँच वटा गाउँपालिकाको अध्यक्ष गरी ६ वटा स्थानीय तहको नेतृत्व पाएको छ । कांग्रेसले दमक र कन्काई नगरपालिकाको उपप्रमुख र बुद्धशान्ति गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ ।

झापामा राप्रपाले दमक नगरको प्रमुख र भद्रपुर नगरपालिकाको उपप्रमुखमा विजय हासिल गरेको छ भने हल्दिबारी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजय हासिल गरेको छ ।

झापाको अधिकांस स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीबीच तालमेल भएको थियो । दमक नगरपालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध तीन दल कांग्रेस, माओबादी र जसपासहित राप्रपाको गठबन्धन थियो । कमल गाउँपालिकामा तीन दलसहित नेकपा एस र जनमुक्ति पार्टीबीच गठबन्धन भएको थियो ।

झापाको कचनकबल गाउँपालिकामा भने सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच तालमेल भएको थियो । सो गाउँपालिकाको प्रमुखमा कांग्रेसले अध्यक्षसहित ६ वटा वडामा जीत हासिल गरेको छ भने एउटा वडामा मात्र एमाले विजयी भएको छ ।

ओलीले गुमाए आफ्नो निर्वाचन क्षेत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेका ४ मध्ये तीन स्थानीय तहको नेतृत्व गुमाएका छन् । ओलीको गृह नगर दमकमा राप्रपासहितको सत्ता गठबन्धनले जीत हासिल गरेको छ ।

दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेजिना भट्टराई विजयी भएकी छन् । कमल गाउँपालिका र गौरिगंज गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हुकुमसिंह राई र फुलमति राजबंशी निर्वाचित भएका छन् ।

यसअघि दमक नगरको प्रमुख उपप्रमुख र कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले बहुमतसहित जितेको थियो । कमल गाउँपालिकाको २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेकी अध्यक्ष पदकी उम्मेदवार मेनुका काफ्लेसँग बराबर मत ल्याएर गोला तान्दा पराजित भएका कांग्रेसका हुकुमसिंह राईले यसपटक भने विजय हासिल गरेका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले मेयर जितेको गौरादह नगरपालिकामा भने यस पटक एमालेले जित हासिल गरेको छ । ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरिगंज गाउँपालिकाको प्रमुख जितेका बाबुराजा श्रेष्ठ यसपटक कांग्रेसकी फूलमति राजबंसीसँग पराजित भएका हुन् ।

एमालेलाई फाईदा, कांग्रेस र राप्रपा घाटामा

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले झापामा तीन नगरपालिका र ३ गाउँपालिकाको प्रमुखमा बिजय हासिल गरेको थियो । यो निर्वाचनमा  पनि एक नगरपालिका र ५ नगरपालिकामा चित्त बुझाउनु पर्यो ।

एमालेले अघिल्लो निर्वाचनमा ५ नगरपालिका र एक गाउँपालिकामा जित हासिल गरेकोमा यस पटक ६ नगरप्रमुख र एक अध्यक्षमा जित हासिल गरेको छ । एमालेले समग्रमा ५ नगरउपप्रमुख र ५ गाउँपालिका उपाध्यक्षमा जित हासिल गरेर आफ्नो उपस्थिति बलियो बनाएको हो ।

यो निर्वाचनमा राप्रपाले ओलीको गृह नगर दमकको मेयरमा जित हासिल गरे पनि कचनकबल र गौरीगंज गाउँपालिकाको अध्यक्ष गुमाएको छ ।

कुन दलले कहाँ प्रभाव गुमाए र कहाँ बिस्तार गरे ?

झापा जिल्लाका ७ वटा स्थनीय तहको नेतृत्व गरेको नेकपा एमालेले विगतमा आफूले जितेका दुई नगरपालिका र एक गाउँपालिका गरी तीन स्थानीय तहको नेतृत्व गुमाएको छ । एमालेले दमक नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको नेतृत्व गुमाएको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका तीन नगरपालिका र एक गाउँपालिकाको नेतृत्व उसले गुमाएको छ । कांग्रेसले नजितेका चार स्थानीय तहमा एमालेले जितेको छ । एमालेले मेचीनगर, अर्जुनधारा र गौरादह नगरपालिका तथा बाह्रदशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसलाई हराएर नेतृत्व लिन सफल भएको हो ।

कांग्रेसले यो निर्वाचनमा भद्रपुर नगरपालिका, कमल गाउँपालिका, गौरीगंज गाउँपालिका र कचनकबल गाउँपालिकामा जित हासिल गरेको हो । यसअघि कचनकबल र गौरीगंज राप्रपाले जितेको थियो भने भद्रपुर नगर र कमल गाउँपालिका एमालेले जित हासिल गरेको थियो ।

राप्रपाले अघिल्लो निर्वाचनको तुलनमा यो निर्वाचनमा दुई गाउँपालिका कचनकबल र गौरीगंजको नेतृत्व गुमाएको छ भने दमक नगरपालिकाको नेतृत्व थप गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो गृहपालिका हल्दिबारीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत नगर सदस्य विजय गराउन सफल भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गृह नगर भद्रपुर र आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कचन कचनकबल गाउँपालिकामा कांग्रेसको नेतृत्वसहित बहुमत सदस्यलाई विजय गराउन सफल भएका छन् ।

कांग्रेस नेता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा भने कांग्रेसले २ वटा वडाध्यक्षमा चित्त बुझाउनु परेको छ । मेचीनगरमा १५ वडा रहेका छन् ।

 

प्रतिक्रिया