होटल लिगलिग मनास्लु भ्यू सञ्चालनमा


गोरखालिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब रु सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । नेपाल एकीकरणको उद्मस्थलका रूपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि  होटल लिगलिग मनास्लु भ्यूसञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिए ।

अहिलेसम्म कूल रु सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ, उनले भने, ‘लिगलिगकोट घुम्न आउने पर्यटक अब बास खोज्दै फर्कनुपर्ने बाध्यता हुने छैन । दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् ।

होटलमा आधुनिक सुबिधासम्पन्न बैठक कक्ष, पार्टी प्यालेस, आवश्यकतानुसार बैठक कोठा तथा रेष्टुरेन्ट  छन् । सञ्चालक पौडेलले भने, ‘अहिले स्विमिङ पुल  निर्माणको काम पनि भइरहेको छ । उनले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिए ।

त्यस्तै होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन्् भने उनीहरूको चाहनाअनुसार स्थानीय कलासंस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उनको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहँुदा घुम्न आउने पर्यटकलाई समस्या हँुदै आएको थियो ।

लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त बासस्थान नहँुदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार२ आँपपीपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । तत्कालीन समयमा लिकलिगकोटमा प्रत्येक वर्ष बडादशँैको नवमीका दिनमा नयाँ राजा छान्ने चलन रहेको इतिहास रहेको छ ।

आवश्यक भौतिक पूर्वाधार निर्माण नहँुदा यहाँ आउने पर्यटकलाई समस्या हँुदै आएको थियो, उनले भने, ‘पर्यटकलाई लक्ष्यगरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुन थालेपछि सजिलो भएको छ । लिगलिगकोटमा स्थानीय मगर समुदाय मिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाकोे भनाइ छ ।

(रासस)

प्रतिक्रिया