

धरानमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै रोकिएको मतगणना पुन: सुरु

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु भएको छ ।
हिजो (बुधबार) दिउँसोदेखि मतगणना रोकिएको थियो । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका प्रतिनिधिले विरोध गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरिएको जानकारी दिएको छ । अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको छ । वडा नं। २० को मतगणना स्थगित गरी अरु वडाको गणना सुचारु भएको छ ।
२० नम्बर वडामा बुधबार १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन । यता, विराटनगर १२ मा पनि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।
३२ सय २४ मत गणना हुँदा १३ वटा मतपत्र हस्ताक्षरविहीन भेटिएपछि एमालेका प्रतिनिधिले गणना बहिस्कार गरेका छन् । वडामा ६ हजार १४९ मत खसेको थियो ।
समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिएका छन् ।

