

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे युवा निर्वाचित

सर्लाही । जिल्लाको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका २२ वर्षे युवा राजाबाबु यादव विजयी भएका छन् ।
यादव चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २३ सय ३९ मत मात्र प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित यादव माओबादी नेता शिवपुजन रायका छोरा हुन् । उनी सर्लाहीको क्षेत्र नं ४ बाट राजनीति गर्दै आएका छन् ।
सो गाउँपालिकको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार गीतादेवी साह ३५ सय २३ मतसहित विजयी भइन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६ सय ३७ मतमात्र प्राप्त गरिन ।
स्वतन्त्र उम्मेद्वारी दिएका निवर्तमान अध्यक्षका छोराले केएस राहुल बर्माले १६ सय सात मत मात्र प्राप्त गरे । २०७४ को स्थानीय तह निर्वाचनमा सो गाउँपालिकामा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बर्मा निर्वाचित भएका थिए । उनको गत बर्ष असारमा निधन भएको थियो । सुरुमा उनकै छोरालाई कांग्रेसको तर्फबाट टिकट दिए पनि उनको नाम काटिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यसअघि धनकौल गाउँपालिका र हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसहेका छन् ।
रामनगर गाउँपालिकाको वडाध्यक्षमा १ नम्बर वडामा माओवादी केन्द्रका ब्रह्मदेव चौधरी, २ मा माओवादी केन्द्रका सदानन्द यादव, ३ मा माओवादी केन्द्रका अजय यादव, ४ मा नेकपा एमालेका वीरेन्द्र ठाकुर, ५ मा माओवादी केन्द्रका श्रीन्नदनप्रसाद यादव, ६ मा नेपाली कांग्रेसका गुदर साह, ७ नमा नेपाली कांग्रेसका गौरीशंकर पण्डित कुम्हार विजयी भएका छन् ।

