

विद्यालयमा साताकाे दुई दिन बिदा नगर्न भक्तपुर नगरपालिकाकाे निर्देशन

काठमाडौं – भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ ।
सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ ।
शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो । त्यस विपरित नगरपालिकाले विद्यालयहरुलाई पत्र पठाएको हो ।
आज (आइतबार) नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको सूचनाअनुसार संवत् २०७९ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’

