
भीम रावललाई कारबाही गर्दै ओली समुहले गर्यो सुदुरपश्चिममा प्रदेश कमिटी विस्तार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समुहले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्। प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको छ।
रावल नेकपा दाहालनेपाल समुहमा रहेका छन् । सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ।
‘पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नु हुने भएकोमा उक्त कार्यक्रमलाई सानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन्।
थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिससमेत गरिएको छ। ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्।



कागजपत्र |
