चुनावका लागि खटाइयो २ लाख ६० हजार सुरक्षाकर्मी


काठमाडौँ- स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ। यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना-२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ। निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन्।  मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।

तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन्। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी पारिएको जानकारी दिए। स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ।

प्रतिक्रिया