
परियारको हत्यारालाई कारबाही गर्न कांग्रेस चितवनको माग, रेणुले दिइन् समवेदना
चितवन – नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले आइतबार साँझ चितवनको भरतपुरमा हत्या गरिएका अनिल परियारको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।
जिल्ला कार्य समिति सभापति राजेश्वर खनालले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको भरतपुर–७ स्थित कृष्णपुर खेल मैदान नजिक अज्ञान समूहले धारिलो हतियार प्रहार गरि हत्यामा भत्र्सना गर्दै घटनामा संलग्नको यथाशीघ्र खोजी गरि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
निर्वाचन प्रचारप्रसारको क्रममा परियारको हत्यामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै अन्यथा यस घटनाबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार प्रशासन नै हुने चेतावनी समेत दिएका छन् ।
त्यस्तै संयुक्त गठबन्धनबाट नगरप्रमुखका लागि उम्मेदवारी दिएकी माओवादी नेतृ रेणु दाहालले पनि घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधि एवं दलित संघका पूर्व जिल्ला सदस्यको हत्यामा संलग्नलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।
रेणु भरतपुर महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा पुनः चुनावी मैदानमा होमिएकी छिन् ।



कागजपत्र |
