

गगन थापाको आरोप, कसैले केही सोध्लान की भनेर नेम्वाङ लुकेर बस्नुभएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्या देवि भन्डारीले पुस ५ गते एक्कासी गरिएको प्रतिनिधिसभा विघटनको विषयमा देशव्यापी रुपमा चर्चा र आलोचना भइरहेको समयमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मौन रहेको अविस्था छ । नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङ देशको यस्तो विष परिस्थितिमा लुकेर बसेको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको उक्त कदमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पार्ने भन्दै राजनीतिक दल, नागरिक समाज, पेशागत संघरसंगठनले विरोध गर्दै आन्दोलन गरिरहेका छन् । नेकपाको ओली पक्षबाहेक सिंगो मुलुक संसद विघटनको विरुद्धमा एकताबद्ध भइरहेको छ ।
बुधबारबाट प्रतिनिधिसभा विघटनको रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा ट्वीटमार्फत थापाले प्रश्नको जवाफ दिन नसकेर नेम्वाङ लुकेर बसेको अवस्थामा अदालतले संविधानको वास्तविक व्याख्या गर्ने आशा व्यक्त गरेका हुन्।
संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको प्रति थापाले आक्रोश पोखेका हुन्।
‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु। जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।’
थापाले संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसकेको भन्दै नेम्वाङको आलोचना गरेका हुन्।


