

चितवनमा सत्ता गठबन्धनको चुनावी सभास्थल जलमग्न

चितवन – सत्ता गठबन्धनको चुनावी सभास्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ। गएरातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो।
सभाका लागि अघिल्लो दिन नै तयार पारिएका मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन्। आमसभास्थल सजाउन राखिएका झण्डाहरू पनि हुरीले उडाउँदा पानीमा डुबेका छन्।
अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल भइरहेको चितवन गठबन्धनका स्थानीय नेताले जनाएका छन्। सभामा सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन पुगिसकेका छन्। आमसभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले सम्बोधन गर्ने जनाइएको छ।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन्।

