चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु, २ लाख ३३ हजार कुखुरा नष्ट


चितवन- कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवन जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो।

अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा।प्रभाष न्यौपानेले जानकारी दिए।

उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ। बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ। पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो। बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो। पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए। सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए।

बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ। सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खंदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक विश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ। अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो।

बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा। शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्री गर्दा रोग फैलिएको बताए। जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

यो प्रदेशमा सबभन्दा बढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ। सचिव डा। पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत् तीव्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताए। छिमेकी मुलुकहरूमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो। पूर्वी क्षेत्रमा रोगको प्रकोप निकै बढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए।

नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ। नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ। धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो। पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्यांक नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए।

रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अवस्थामा कृषक पुगेको उनको भनाइ थियो। हालसम्मकै संकटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए।

प्रतिक्रिया