युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले तीव्र गतिमा रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने पुटिनको चेतावनी


रुस – युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले बिजुलीको गतिमा प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्।

‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्नुपर्दैन… आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने। उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ।

युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो। अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन्।

पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्‍याएको बताएका छन्। गत साता रुसले युक्रेनी राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको थियो।

तर एक अधिकारीका अनुसार रुसी सेनालाई कठोर युक्रेनी प्रतिरोधलाई सामना गर्न गाह्रो भइरहेको छ र उनीहरूले हार बेहोरिरहेका छन्। यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ।

उनले ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको बताए। तर त्यसबारे विस्तृत रूपमा खुलाएनन्। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो।

पश्चिमा देशहरूले जर्मनीमा एउटा सम्मेलन गरेर युक्रेनलाई दिइने सैन्य सहायता बढाउने प्रतिबद्धता जनाएको भोलिपल्ट पुटिनले उक्त चेतावनी दिएका हुन्।

प्रतिक्रिया