
प्रतियात्रु ३ हजार पुग्यो विमानस्थल शुल्क, नाट्टाले भन्यो – शुल्क वृद्धि अस्वाभाविक
काठमाडाैं – नेपाल सरकारले विमानस्थल सेवा शुल्क वृद्धि गरेर प्रतियात्रु ३ हजार रुपैयाँ पुर्याएको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत लिने शुल्क हाल १ हजार लिने गरेकोमा एकैपटक २ हजार बढाएको छ ।
‘विमानस्थल सेवा शुल्क नियमावली २०७८’ मार्फत यस्तो शुल्क अन्तर्राष्ट्रिय उडानमा जाने हरेक यात्रुले तिर्नुपर्छ । यो शुल्क टिकटसँँगै जोडिएर आउने भएकाले अब टिकट काट्दै थप ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । प्राधिकरणले विमानस्थल विकासको नाममा यस्तो शुल्क लिने उल्लेख गरेको छ ।
विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरेकोमा ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले विरोध गरेको छ । सरकारले अधिक शुल्क लिने गरी गरेको निर्णय अस्वाभाविक भएको र यात्रुलाई अनावश्यक भार थप्ने काम गरेकाले तत्काल फिर्ता लिन नाट्टाले माग गरेको छ ।
सरकारले व्यवसायीसँगको छलफलमा उपयुक्त शुल्क लिन सक्ने हुँदाहुँदै एकतर्फी रूपमा गरिएकोे शुल्क वृद्धिको नाट्टाले विरोध गरेको छ । यो शुल्क ट्राभल व्यवसायीले संकलन गरेर प्राधिकरणलाई बुझाउने गर्छन् ।
नाट्टाले पर्यटन व्यवसायीसँग सम्बन्धित नीतिनियम निर्माण गर्दा सरोकारवालासँगको समन्वय गरेर मात्रै निर्णय लिन माग गर्दै तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेको छ ।
नेपालको पर्यटन व्यवसाय कोभिड-१९ पछि केही चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटक आगमन क्रमशः बढ्न लागेको अवस्थामा शुल्क वृद्धि उपयुक्त नहुने नाट्टाको बुझाइ छ ।
सरकारी निकायबाट विभिन्न समस्याहरू देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भइरहेकोप्रति असहमति जनाएको नाट्टाका अध्यक्ष रमेश थापाले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।



कागजपत्र |
