भरतपुरमा एमाले–राप्रपाबीच चुनावी तालमेल, रेणु दाहाललाई छैन सजिलो


काठमाडाैँ- चितवनको भरतपुर महानगरपालिकामा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ। कांग्रेस-माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्ने योजनासहित यी दुई दलबीच आइतवार दिनभर वार्ता भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला चितवनको भरतपुरमा कांग्रेसको साथ लिएर माओवादी केन्द्रकी रेनु दाहाल दोहोरिन तयार भएको अवस्थामा विपक्षीको मोर्चाबन्दी बनेको हो।

आइतवार पटक पटक भएका वार्ताले निचोड दिन सकेको थिएन। तर आइतवार राति पनि भएको वार्तापछि तालमेलमा सहमति जुटेको हो। भरतपुरको मेयरमा एमालेले बागमती प्रदेश सांसद विजय सुवेदीलाई मैदानमा उतारिसकेको छ। उनले प्रदेश सदस्यबाट राजीनामा दिएर चुनावी अभियान थालिसकेका छन्।

यो तालमेल सहमतिपछि अब राप्रपाले एमाले उम्मेदवार सुवेदीलाई राप्रपाले मेयरमा सहयोग गर्ने भएको छ।उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने भएको छ। उपमेयरमा राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले बताए।

एमाले केन्द्रीय सदस्यसमेत रहेका ज्ञवालीकै प्रस्ताव र सांसद कृष्णप्रसाद पोखरेलको समर्थनमा सुवेदी अहिले चुनावी मैदानमा छन्। ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा अनेक विवाद र मतपत्र च्यातिएपछि भएको उपनिर्वाचनमा रेनु दाहालसँग पराजित भएका थिए।

दुई दलबीचको सहमतिबमोजिम राप्रपाले महानगरपालिका वडा नं. १५ र २६ को वडाध्यक्षको टिकट लिनेछ। त्यस्तै वडा नम्बर ४,११, १६,१९ र २४ मा दुवै दलबाट वडाध्यक्ष उम्मेदवार उठाएर मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

अन्य वडामा एमालेका वडाध्यक्षसहितका सदस्य उठ्नेछन्। त्यस्तै अन्य वडामा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य उठाइने भएको छ। एमालेले केन्द्रीयस्तरमा भने कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग तालमेल गरेको छ।

प्रतिक्रिया