मेलम्चीको पानी आजदेखि फेरि घरघरमा पठाइने


काठमाडौं – मेलम्चीबाट ल्याइएको पानी आज (आइतबार) देखि फेरि काठमाडौँका घरघरमा पठाइने भएको छ । गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो ।

क्षति भएका संरचना निर्माण गरेर काठमाडौँ ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरु हुनेछ ।

गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौँ पठाउन सुरु गरिएको थियो । गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो । दुई महिनामा मर्मत सकेर पानी काठमाडौँ ल्याइएको छ ।

मेलम्चीको पानी काठमाडौँ आएपछि यहाँ देखिएको पानी सङ्कट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन् । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ ।

यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

प्रतिक्रिया