पौडेलसहित ७ नेतालाई केन्द्रीय निर्वाचन परिचालन उपसमिति संयोजक तोकियो


काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलसहित ७ नेतालाई स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमितिको संयोजक तोकिएको छ ।

कांग्रेस उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले विहीबार समिति अन्तर्गत ७ वटा उपसमिति गठन गरी संयोजक मनोनयन गरेका हुन् ।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता प्रदीप पौडेललाई केन्द्रीय अनुगमन, मुल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिको संयोजक तोकिएको छ भने केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवम् परिचालन उपसमिति संयोजकको जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सदस्य मीनबहादुर विश्वकमालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजक, केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवम् परिचालन उपसमिति संयोजक र केन्द्रीय सदस्य उदय शम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति संयोजकमा मनोनित गरिएको छ ।

केन्द्रीय सदस्य जीतजंग वस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति र केन्द्रीय सदस्य रामहरी खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा मनोनित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

प्रतिक्रिया