आज नयाँ वर्ष २०७९


काठमाडौँ– आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता­–असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पूण्य कमाइने धार्मिक विश्वास छ ।नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ।

प्रतिक्रिया