८ महिनामा ६ खर्ब ३१ अर्ब १९ करोड रेमिट्यान्स भित्रियो


काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्रबैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

बिदेशबाट हुन्डीमार्फत पैसा पठाउने बढेको कारण रेमिट्यान्स बढ्न नसकेको सरकारले बताउदै आएको छ । सरकारले औपचारी माध्यमबाट रेमिट्न्स पठाउनेलाई प्रोत्सहान गर्दै आईपीओ तथा एफपीओमा कोटा छुट्टाउने तयारी समेत गर्दैछ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया