धौलागिरि आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु
काठमाडौं – सगरमाथा सहित ५ वटा हिमालको सफल आरोहण गरिसकेका ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।
आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरी आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले गाइड गरेका थिए । सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।
सन् १९९० देखि आरोहण गरिरहेका एन्टोनिसले हालसम्म ६६ वटा हिमाल आरोहणमा सहभागी भएका छन् । तीमध्ये १२ वटा हिमाल आरोहण टोलीको नेतृत्वसमेत गरेका छन् ।