तोकिएकै समयमा निर्वाचन नभए मुलुक दुर्घटनामा जान्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
विराटनगर – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन् । उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए ।
निर्वाचन आयोग नेपालले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले भने, ‘निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको छ । अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ।’
उनले जिल्ला जिल्लामा निर्वाचन अधिकृत तोक्ने र मतपत्र छाप्ने काम पनि पूरा भएको जानकारी दिए । कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारलाई राजनीति नगर्न सुझाव दिएका छन् ।