जहाँ जग्गादाताको नाम राख्न विद्यालयको नामै फेरियो


काठमाडाैँ- उदयपुरको एउटा विद्यालयको नाम फेरेर जग्गा दाताको नाम राखिएको छ। रौतामाई गाउँपालिका( ८ कोप्चेमा रहेको आधारभूत विद्यालय कोप्चेको नाम संशोधन गरी जग्गादाता स्वर्गीय धर्मध्वज थापाको नामबाट विद्यालयको नाम राखिएको हो।

थापा परिवारले विद्यालयलाई २५ लाख रुपैयाँ मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नाम परिवर्तन गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए।

विद्यालयको नाम संशोधन गरेर अब ‘स्व।धर्मध्जव थापा आधारभूत विद्यालय कोप्चे’ राखिएको खत्रीले बताए। ‘शिक्षा ऐनमा भएको व्यवस्था अनुसार नै हामीले जग्गा दाताको नामबाट विद्यालयको नामाकरण गरेका हौँ,’ खत्रीले भने।

शिक्षा ऐनमा आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान छ। सोही प्रावधान अनुसार जग्गा दाताको नाममा विद्यालयको नाम संशोधन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

ऐनको व्यवस्था अनुसार विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गाउँपालिकाले गरेको प्रअ खत्रीले जानकारी दिए।

स्वर्गीय थापाका छोरा शंकर थापाले बुवाले विद्यालय स्थापनाका लागि २०४५ सालमा १ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी दिए।

प्रतिक्रिया