धादिङको राजमार्ग क्षेत्रकाे एक होटलबाट २५ किलो गाँजासहित पाँच जना पक्राउ


धादिङ – धादिङको राजमार्ग क्षेत्रका होटलहरुबाट २५ किलो गाँजा बरामद गरेको छ ।

गजुरी गाउँपालिका पर्ने पृथ्वीराजमार्ग छेउछाउका चिया नास्ता पसल तथा होटलहरुबाट गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार प्रहरीले गनुरी गाउँपालिका वडा नम्बर २ को बिहानी पम्पमा रहेको जयराम स्टाफ होटल, फुर्केखोलामा रहेको हिरा होटल एन्ड लज, आयुष होटल र ठकुरी होटलका साथै बेनिघाट रोराङ– ३ को करम खोलामा रहेको खिलनाथ त्रिपाठीको होटलमा छापा मारी २५ किलो गाँजा बरामद गरिएको हो ।

होटल तथा चिया पसलहरुमा खुलेआम गाँजा बिक्री भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा गाँजा भेटिएको हो । गाँजा बेच्ने होटल संचालकहरुलाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको रिमालले बताए ।

प्रहरीले अनुसन्धानका लागि जयराम स्टाफ होटलकी सञ्चालिका सानी अधिकारी, आयुष होटलको संचालक ४३ होतराज सेढाई, राजकुमार हिरा होटल एन्ड लजका सञ्चालिका हिरामाया लम्साल, ठकुरी होटलको संचालक वेदकुमार शाहीलाई पक्राउ गरेको छ ।

त्यस्तै बेनीघाट रोराङ– ३ करम खोलामा होटलको संचालक ५५ वर्षका खिलनाथ त्रिपाठी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया