सपना देखाएर बेवारिसे बनाउनेलाई भोट नदिनुहोस् : प्रदीप पौडेल


काठमाडौं –  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दललाई मत नदिन आग्रह गरेका छन् । गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्याङ्की उदघाटनका लागि पुगेका पौडेलले लोकतन्त्रमा ढाँटको राजनीति गर्नेलाई जनताले अस्वीकार गर्नुपर्ने बताए ।

‘घोषणपत्रमा लेख्ने, तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ नेता पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिबद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले चुनाव जित्नु राम्रो होइन, त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ ।’

उनले काम नगरी चुनाव जित्ने परिस्थिति निर्माण भए जनताले चाहेजस्तो विकास र समृद्धि कहिल्यै पनि प्राप्त गर्न नसक्ने बताए । ‘कांग्रेसले यो चुनावमा स्पष्ट योजना प्रस्तुत गर्नेछ । ती योजना हाम्रा प्रतिबद्धता हुन्,’ नेता पौडेलले भने, ‘हामी हाम्रा प्रतिबद्धता पूरा गर्नेछौँ । पूरा गर्न नसकिने प्रतिबद्धता हामी गर्दैनौँ ।’

उनले घोषणापत्रमा लेखेका अधिकांश प्रतिबद्धता पूरा नभए भोलिका दिनमा भोट नहाल्न पनि आग्रह गरे ।  पौडेलले जनताको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्नुपर्नेमा भन्दै लाखौँ जनता अहिले पनि शुद्ध खानेपानीबाट वञ्चित रहेको भन्दै ओली सरकारको प्राथमिकता भने भ्यूटावरमा परेको बताए ।

“जनताको आवश्यकता के हुन् त्यतातिर दलहरुले ध्यान दिनुपर्छ । त्यसकारण भ्यू टावर होइन खानेपानीका ट्याङ्की र धारा बनाउनुपर्छ,” पौडेलले भने, “चर्चाका लागि होइन जनताको आवश्यकता सम्बोधनका लागि विकास गर्नुपर्छ ।”

प्रतिक्रिया