नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन, यहाँ पनि गठबन्धन र एमालेको प्यानल भिड्दै
काठमाडाैँ- नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार हुने भएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
उक्त समूहमध्ये प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ भने अपराह्न ४ बजे सम्पन्न हुनेछ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ। निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता छन्। त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० छन्। सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ। उपत्यकामा धेरै मतदाता भएकाले चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिए।