

अमेरिकी भण्डारहरूबाट अभूतपूर्व मात्रामा तेल निकाल्न बाइडनको आदेश

अमेरिका – अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्।
आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ। तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्।
यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने एकजना बीबीसी संवाददाता बताउँछन्। तर राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेका छन्।
उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्। रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।
बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेका छन्। वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो। त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५।४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो।
ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ। अमेरिकामा नोभेम्बरमा सङ्घीय संसद्को चुनावहरू हुँदैछन्।
राष्ट्रपति पुटिनले शुक्रवारबाट हुने रुसी प्राकृतिक ग्यास आपूर्तिको भुक्तानी रुबलमा गर्न दिएको समयसीमालाई पश्चिमा सरकारहरूले अस्वीकार गरेका छन्। भ्लादिमिर पुटिनले पश्चिमा वित्तीय प्रणाली रुसविरुद्ध हतियारको रूपमा प्रयोग भएको भन्दै त्यस्तो परिवर्तन आवश्यक परेको बताएका छन्।
जर्मनी, फ्रान्स र अस्ट्रिया सबैले मस्कोको मागलाई धम्कीपूर्ण ब्ल्याकमेल भएको बताएका छन्। क्रेम्लिनले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। युरोपेली आयोगका एकजना प्रवक्ताले तत्काल ऊर्जा सुरक्षामा समस्याको सङ्केत नरहेको बताएका छन्।

