स्थानीय चुनावका लागि मतपत्रको परीक्षण छपाइ शुरू


काठमाडाैं – आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरू भएको छ । मतपत्र छपाइ हुँदा मापदण्ड अनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न ३ दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मशिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिए । मतपत्र छपाइभन्दा अघि मशिनको परीक्षण गरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि करीब २ करोडको संख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता संख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशत मात्र बढी मतपत्र छपाउन लागेको छ ।

कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ । काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।

प्रतिक्रिया