

वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३ अर्बले बढ्यो

काठमाडौं – वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैंयाले बढेको छ । चैत १३ गते वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले बढेको हो। जसअनुसार नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १२ गतेसम्म कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।
तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी भने चैत १३ गते १ अर्ब रुपैयाँले घटेको छ। गत चैत १२ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा चैत १३ गतेसम्म घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ।
चैत १३ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप पनि २ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर रहँदै ४६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको सीडी रेसियो सामान्य घटेर ९०.७० प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर बढेर ७ प्रतिशत पुगेको छ।
नेपाल बैंकर्स संघका अनुसार ४ चैतदेखि ११ चैतसम्ममा नेपाली मुद्रामा निक्षेप २ खर्बले घटेको छ । कर्जा भने नेपाली मुद्रामा १ खर्ब बढेको छ । गत हप्ता विदेशी मुद्रामा निक्षेप वढ्दा बैंकहरुलाई केही सहज भएको यियो । ४ चैतसम्म ९७ अर्ब विदेशी मुद्रामा निक्षेप रहेकोमा ११ चैतसम्म आइपुग्दा १ खर्ब २ अर्ब पुगेको छ ।
विदेशी मुद्रामा कर्जा भने ४८ अर्बबाट ४७ अर्बमा आएको छ । नेपाली मुद्रामा कर्जा परिचालन ४१ खर्ब २२ अर्ब रहेको छ । यो गत हप्ताभन्दा १ अर्बले वढी हो । फागुनको अन्तिम हप्तामा कुल ४३ खर्ब ३३ अर्ब निक्षेप रहेकोमा चैतको पहिलो हप्ता ५ अर्बले निक्षेप घटेको थियो ।

