
धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना : चार बालबालिकाको मृत्यु
काठमाडौँ- धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सवैला नगरपालिका–१२ स्थित बरकुर्वामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु भएका चारै जना सवैला नगरपालिका वडा नम्बर २ का हुन्।
मृत्यु हुनेहरू सबै नाबालक हुन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार दुर्घटनामा सोही वडाका १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। सोमबार राति सवा ८ बजे दुर्घटना भएको जानकारीपछि पाँचै जनालाई गम्भीर अवस्थामा अस्पतालमा ल्याइएकोमा चार जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
एउटा मोटरसाइकलमा बढी यात्रु सवार भएको र तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।



कागजपत्र |
