

चुनावी गठबन्धनबारे कांग्रेसले औपचारिक निर्णय भोलि गर्ने

काठमाडाैं – अरू दलसँग चुनावी तालमेल गर्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि नेताहरूबीच विवाद देखिएको छ । केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अरू दलसँग गठबन्धन गर्नुपर्ने बताएका छन् भने महामन्त्री गगन थापा र नेता शेखर कोइरालालगायतले गठबन्धन गर्न नहुने बताएका छन् ।
सभापति देउवाले २०७४ सालको चुनावमा आफूले पनि बल्लतल्ल चुनाव जितेको स्मरण गर्दै आउँदाे चुनावमा गठबन्धन गरेमा नेपाली कांग्रेस बलियो हुने र गठबन्धनले लगभग सबै ठाउँमा चुनाव जित्ने बताए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले चुनाव जितेमा परिवर्तन नै जोखिममा पर्ने भएकाले एमाले र केपी शर्मा ओलीलाई सत्तामा आउन रोक्न पनि गठबन्धन गर्नुपर्ने बताए।
तर महामन्त्री गगन थापाले आफू सैद्धान्तिक रूपमा कांग्रेसका कार्यकर्तालाई अरू दलको चुनाव चिह्नमा भोट हाल्न आग्रह गर्ने पक्षमा नरहेको बताए । अहिले अरू चिह्नमा भोट हाल्न बाध्य बनाउने कार्यकर्तालाई भविष्यमा कांग्रेसमै ल्याउन नसकिने अवस्था आयो भने के गर्ने भनेर थापाले प्रश्न गरे । यस्तै नेता शेखर कोइरालाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ ? भन्ने प्रश्न गरे । सभापति देउवाले पार्टीभित्रका सबै गुट उपगुटलाई मिलाउने र अरू नेताहरूको पनि विचार सुन्ने हो भने कांग्रेस एक्लैले चुनाव जित्ने कोइरालाको भनाइ छ ।
यद्यपी गठबन्धन गर्ने/नगर्नेबारे कांग्रेसले औपचारिक निर्णय भोलि मङ्गलवार मात्रै गर्ने भएको छ ।

