लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन


विराटनगर –  मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रदेश नम्बर–१ प्रहरी कार्यालय विराटनगरले घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति गठन गरेको हो ।

घटनाको सबै पक्षको अनुसन्धान गर्ने र दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । एसएसपी चौधरी प्रदेश–१ प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।

गत आइतबार लेटाङ नगरपालिका-१ स्थित शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडप भएको थियो।  चैत ४ गते होलीका दिन एक शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले छात्रासँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ।

त्यसै विषयमा विद्यालयमा छलफल हुँदा उग्र रूप लिएको हो। प्रहरीले ती शिक्षकलाई पक्राउ गर्न जाँदा उनालाई बचाउन खोजेको भन्दै भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो। त्यसक्रममा एक महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। त्यस्तै प्रहरी उपरीक्षक जनार्दन जिसीसहित ३० जना घाइते समेत भएका थिए। हाल लेटाङमा कर्फ्यू जारी छ। बुधबारदेखि भने कर्फ्यूलाई मोरङ प्रशासनले खुकुलो बनाएको छ।

प्रतिक्रिया