

लेटाङमा स्थानीयले प्रहरीकाे हत्या गरेपछि आज पनि कर्फ्यु

मोरङ – मोरङमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएपछि कर्फ्यु लगाइएको छ। जिल्लाको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको थियो। झडपमा परेर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि स्थानीय प्रशासनले सोमबार बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। कर्फ्यु आज पनि जारी छ।
सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो। अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।
घटनामा मोरङका एसपी जनार्दन जिसीसहित डेढ दर्जन प्रहरी घाइते भएका छन्। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।
सोही तनाव नियन्त्रणमा खटिएको बेला प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो। आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको प्रहरीले जनाएको छ।

