

१८औँ एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

२५ भदाै २०५२ मा स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो । कोरोनाभाइरसको महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको छ ।
अवार्ड कार्यक्रम अपरान्ह ३ः०० बजे सुरु हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहने सुवेदीले जानकारी दिए । अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरू एनटीभी प्लस एचडी, एनटीभी न्युज एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान गरिनेछ । कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ ।
अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ पनि साेमबार सकिँदै छ । यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् । उनीहरूका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई-सेवामार्फत गरिने मतदान सोमबार राति १२ बजे सकिँदै छ ।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिनेछ । कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइसकेका छन् ।
यसवर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सूर्य नेपाल प्रालि, ई-सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी, ए सिक्स सुज, होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतले सहप्रायोजन गरेका छन् ।

