प्रचण्डले भारतलाई ‘हस्तक्षेप’ गर्न आह्वानसहित सरकार गिर्ने मिति तोक्नुको भित्री कारण


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई ठूला आह्वान र घोषणा गरेका छन्।

एउटा अन्तरवार्ताको दौरान नेपालको अहिलेको अवस्था, खासगरी प्रतिनिधि सभा विघटनविरुद्ध उभिएको आफूहरूलाई नैतिक समर्थ गर्नका लागि भारतलाई आह्वान गरेका छन्। जसलाई भारतीय मिडियाले नेपालको राजनीतिमा हस्तक्षेप गर्नका लागि प्रचण्डले आह्वान गरेको भनी व्याख्या गरेका छन्।

अर्कोचाहिँ विरोध सभाका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बैशाखसम्म मात्र टिक्ने घोषणा गरेका छन्। वैशाखपछि उक्त सरकार नहुने उनको दाबीपछाडिको कारण के हुनसक्छ?

विरोध सभामै प्रचण्डले उक्त सभामा ‘धेरै डिजाइन र खेल भएको छ, यो विषयमा केही दिनमा म तपाईहरूलाई खुलाउँछु’ भनेका छन्। यसको भित्री कारण रहस्यमय रहेको विश्लेषण गरिएको छ।

१७ र २७ वैशाखमा सरकारले निर्वाचनको घोषणा गरेको छ। जसलाई प्रचण्डले नहुने निर्वाचनको मिति समेत भनेका छन्। 

उच्च स्रोतहरूका अनुसार प्रचण्डका भाषणका संकेतहरू गम्भीर रहेको छ। वैशाखमा निर्वाचन गराउन नदिनका लागि प्रचण्डको मोर्चा सडकमा सक्रिय रहेपछि मुलुक अस्थिरतामा जानेछ। जसलाई भारतीय संस्थापनले सहयोग गर्न सक्ने अनुमान गरिएको छ। प्रचण्ड स्वयम्ले आह्वान गरेपछि भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गरी ओली सरकारलाई अपदस्त गर्न सक्ने सम्भावना छ।

तर त्यसपछि सरकारमा प्रचण्डको मोर्चा पनि जाने छैन। उच्च स्रोतहरूका अनुसार प्रतिनिधि सभा विघटनले वैधता पाएको खण्डमा भारतको मध्यस्ततामा मुलुक चुनावमा नै जानेछ। तर, त्यो चुनावी सरकारको विकल्प भने ७० सालअघिको जस्तो बन्ने बताइन्छ।

‘सरकार पनि नरहेको र सडक पनि तातेको अवस्थामा भारतीय मध्यस्ततामा खिलराज रेग्मीको नेतृत्वमा बनेको जस्तो सरकार बनाउने प्रस्ताव आउनेछ, जसले नयाँ चुनाव गराउने दायित्व लिनेछ’, उच्च स्रोतले भन्यो, ‘यो अस्थिरताको अर्को नमूना प्रतिस्थापित गराउने प्रयत्न हो। प्रचण्डले गरेको संकेत पनि त्यहि हो।’

भारतसँग विविध विषयमा ओली सरकारले टकराव लिएपछि यो परिस्थितिलाई कृत्रिम ढंगले उपयोग गरिएको छ। प्रचण्डले ओलीलाई ‘गोटी’को संज्ञा दिनुले पनि यसलाई संकेत गर्छ। तर एउटा पक्षले प्रचण्डलाई पनि ‘गोटी’का रुपमा नै उपयोग गरिरहेको छ।

यहि बेला चिनियाँ प्रतिनिधि मण्डलले नेकपाको विभाजन रोक्न सकिन्छ कि भन्ने चिन्ता जताएर नेताहरूसँग भेट गरेको थियो। तर दुवै पक्षलाई चीनले सहमतिमा ल्याउन सक्ने अवस्था भने नरहेको कतिपयको बुझाई छ। ‘अमेरिकी र भारतीय उच्च स्तरीय संयन्त्रले नेपालमा यो काम गरिरहेको छ। उसले नेकपाका दुई कित्ताको राम्रो उपयोग गरिरहेको छ’, स्रोतको दाबी छ।

प्रतिक्रिया