कला, संस्कृति देश चिनाउने गहना हुन् : प्रेम आले


काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

फागु पूर्णिमा (होली पर्व) का अवसरमा बिहीवार ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताए ।

नेपाल कला र संस्कृतिको धनी भएकाले पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले बताए । कला, संस्कृति विना मान्छेको जीवन अधुरो हुने उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवा पुस्ता अघि बढ्नुपर्ने धारणा राखे ।

पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उनले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताए । पुरातात्विक महत्त्वका सम्पदाको संरक्षणका लागि आफू सधैं कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो ।

नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उनले जानकारी दिए । उनले भने, ‘कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौं, चाँडै कानूनबमोजिम कारबाही गछौं ।’

प्रतिक्रिया